शनिबार पाल्पामा लागेको आगो निभाउने क्रममा २ जना घाइते

सहयात्रा टिभी

काठमाडौं । वैशाख ९ , पाल्पामा शनिबार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा रैनादेवी छहरा १ का ५५ वर्षीय टोपबहादुर बुढा र माथागढी ४, जामुनडाँडाका ६५ वर्षीय पूर्णबहादुर काम्मु छन् ।

गम्भीर घाइते भएका बुढालाई थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए। सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रमा शनिबर बिहानैदेखि आगलागी भएको थियो ।

आगलागीबाट स्थानीय भरिवश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको छ । सिद्धेश्वर क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आउने नसकेको स्थानीयले बताएका छन् । आगोमा परी घाइते भएका काम्मुको अवस्था भने सामान्य रहेको माथागढी गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले जानकारी दिए।

स्थानीय खमीसरा काम्मुको गोठबाट सल्केको आगोले ५ जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो । घर गोठमा लागेको आगो नियन्त्रणमा आए पनि उक्त आगो जंगलमा पसेको र अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।

यसैबीच जिल्ला सदरमुकाम तानसेनसहित जिल्लाका विभिन्न स्थानमा गरी २ दर्जनबढी स्थानमा डढेलो लागेको छ । तानसेनको बतासेडाँडा, श्रीनगरडाँडा, धरमपानी, वनदेवी, विस्कुनडाँडाको तल्लो भेगलगायतका क्षेत्रमा आगो लागेको हो ।

 

प्रकाशित : 21 April, 2024

प्रतिक्रिया दिनुहोस्