केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुल्मीमा आगलागी हुदा एकै दिन ८३ घरगोठ र ७५ चौपाया जले

सहयात्रा टिभी

काठमाडौं । वैशाख ९ , शनिबार जिल्लाका १३ ठाउँमा भएको आगलागीबाट ८३ घरगोठ जलेका छन् भने ७५ पशु चौपाया मरेका छन् ।

त्यस्तै एउटा ट्याक्टर, दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल, एउटा मन्दिर पनि जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट २ जना मानिस र ७ पशुचौपाया पनि घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका-२ हाडीखोला, वडा नम्बर ४ को कोटकोटरी र मुर्किना, गुल्मीदरबार गाउँपालिका-६ भलायचौर, मुसिकोट नगरपालिका-५ आँपचौर र अर्लाङ्कोटमा शनिबार आगलागी भएको थियो ।

त्यस्तै मालिका गाउँपालिका-१ म्यालचौर, मदाने गाउँपालिका-१ घडेरी, छत्रकोट गाउँपालिका-१ हुँगा, धुर्कोट गाउँपालिका-६ कुरमचाल्ने, वडा नम्बर ४ रातापोखरा र रुरुक्षेत्र गाउँपालिका- १ भटकुवामा पनि शनिबार नै आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार इस्माको सिदुङ्खा, कोटकोटरी र हाडीखोलामा आगलागीले बढी क्षति पुर्‍याएको छ ।

सिदुङ्खामा मात्र १३ घर र २५ वटा गोठ गरी ३८ घरगोठ जलेका छन् । घरगोठ जलेपछि स्थानीय बासिन्दा खुला आकाशमुनि बस्न बाध्य छन् । मरेका पशुचौपायाको व्यवस्थापन पनि हुन सकेको छैन ।

 

 

 

 

प्रकाशित : 21 April, 2024

प्रतिक्रिया दिनुहोस्