केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली सेनाद्धारा कतारका राजालाई अति विशिष्ट स्तरको सुरक्षा गर्ने

सहयात्रा टिभी

काठमाडौं । वैशाख ११, कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणको सुरक्षा नेतृत्व नेपाली सेनाले गर्ने भएको छ ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा कतारका राजालाई अति विशिष्ट स्तर (क श्रेणी) को सुरक्षा प्रदान गर्न लागिएको हो ।

विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपाल भ्रमणका बेला पनि यही तहको सुरक्षा प्रबन्ध मिलाइएको थियो । यसअनुसार विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको पार्श्ववर्ती र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ ।

बाहिरी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग खटिनेछ । कतारका राजा अमिर शेखको सडकमा सवारीका बेला सबैभन्दा अग्रभागमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जीप, १८ जना आउट राइडर्स, विशिष्ट व्यक्ति, विशिष्ट व्यक्तिको पछुवा कार, फेरि आउट राइडर्स र जगेडा कार समेत रहने छ ।

आपतकालीन अवस्थाका लागि एम्बुलेन्स, प्रहरी जीप, पछुवा कार पनि उनको सवारीका बेला साथमै रहनेछन् । सेनाका स्नाइपरदेखि बम डिस्पोजल टोली पनि तैनाथ रहनेछन् ।

कतारका राजा मंगलबार पौने ५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने भए पनि बिहानैदेखि चोक–चोकमा सुरक्षाकर्मीहरु परिचालन भइसकेका छन् । कतारका राजासहितको भ्रमण टोलीलाई सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।

कतारका राजा बंगलादेशको ढाका हुँदै नेपाल आउन लागेका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गर्ने छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै बेलुकी भेटवार्ता हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार भेटवार्ता गर्नेछन् ।

कतारको राजासहितको भ्रमण टोली बुधबार दिउँसो दुई बजे नेपालबाट फर्किने कार्यक्रम छ ।

प्रकाशित : 23 April, 2024

प्रतिक्रिया दिनुहोस्