केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रेशम चौधरी साधारण सदस्य समेत बन्न नसक्ने रञ्जिताको जिकिर

सहयात्रा टिभी

काठमाडौं । वैशाख ११, नागरिक उन्मुक्ति पार्टी (नाउपा)की संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री रञ्जिता श्रेष्ठले रेशम चौधरी पार्टीको साधारण सदस्य समेत बन्न नसक्ने जिकिर गरेकी छन् ।

पार्टीको विधानमा ‘जेलमा गएर सदस्यता दिने अवस्था नरहेको’ भन्दै उनले रेशम चौधरीलाई पार्टीबाट सदस्य नबनाइएको दाबी गरेकी छन् ।

आफू विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा लिखित जवाफ पेस गर्दै श्रेष्ठले पार्टीको विधानमा ‘नैतिक पतन देखिने अभियोगमा दोषी ठहर भएको व्यक्ति पार्टीको सदस्य हुन नसक्ने’ व्यवस्था रहेको भन्दै रेशम चौधरीलाई पनि नागरिक उन्मुक्ति पार्टीको सदस्य बन्ने सुविधान नभएको दाबी गरेकी छन् ।

टिकापुर घटनामा रेशम चौधरीले सभ्य समाजको अपेक्षा र मानवीय चेतना विरुद्ध अमानवीय, क्रुर र निर्मम् ढंगले ज्यान मारेको भनी अदालतबाट फैसला भएको भन्दै रञ्जिताले आत्मसमर्पण गरेका प्रहरीदेखि बालकको हत्या गर्ने काम नैतिक पतन रहेको भन्दै त्यस्तालाई राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधान अनुसार सदस्यता दिन नसकिने भनी जवाफ लेखेकी छन् ।

रेशम चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अर्कोतर्फ जन्मकैदको सजाय भइ २५ वर्ष कैद तोकिएको भन्दै रञ्जिताले रेशमलाई कैद बस्नुपर्ने अवस्थाबाट सहुलियत मात्रै दिइएको बताएकी छन् ।

रेशम चौधरीले निर्वाचन आयोग र पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ विरुद्ध दायर गरेको रिट निवेदन आगामी शुक्रबारका लागि पेसी तोकिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका ६४ जना कार्यकर्ताले आफूहरू पहिलो महाधिवेशनबाट निर्वाचित भएको तर मान्यता नपाएको भन्दै गत शुक्रबार अर्को रिट निवेदन दर्ता गराएका छन् । यी दुवै रिट निवेदन एकसाथ सुनुवाइ हुनेछन् ।

प्रकाशित : 23 April, 2024

प्रतिक्रिया दिनुहोस्