काठमाण्डौका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन

सहयात्रा टिभी

काठमाडौं । वैशाख १२ , काठमाण्डौ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ ।

सामुदायिक विद्यालयमा सरसफाइ, हरियाली, कलात्मक र आकर्षक वातावरण बनाउनका साथै विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्ने उद्देश्यले स्वयंसेवक परिचालन गरिएको महानगर शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

महानगरले सार्वजनिक सूचनामार्फत सङ्कलन गरिएका आवेदकमध्ये एक सय ४५ जना स्वयंसेवक छनोट गरेर सामुदायिक विद्यालयमा परिचालन गरेको पोखरेलले बताउनुभयो ।

स्वयंसेवकमध्ये ४५ जनालाई युवा र बालबालिका (सम्पदा) कार्यक्रम तथा एक सय जनालाई वातावरण र बालबालिका (वाबा) कार्यक्रमका लागि परिचालन गरिएका छन् ।

पोखरेलका अनुसार महानगरपालिकाभित्रका ८९ सामुदायिक विद्यालयमा छ महिनाका लागि स्वयंसेवक परिचालन गरिएका छन् ।

स्वयंसेवकले हरेक हप्ताको दुई दिन (बिहीवार र शुक्रवार) विद्यालयमा समय दिनुपर्ने र शिक्षक तथा विद्यार्थीहरुसँग सहकार्य गरी ‘सुन्दर विद्यालय’ कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेछ ।

त्यसैगरी हरेक बिहीवार सम्पर्क शिक्षकसँगको समन्वयमा शुक्रवार विद्यालयमा सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना बनाउने र तिनलाई कार्यान्वयन गर्ने, विद्यालय हाता, कक्षाकोठा, बगैँचा, शौचालयको सरसफाइका लागि अगुवाइ र फोहरको वर्गीकरण अभ्यासलाई संस्थागत गर्नेलगायत काममा स्वयंसेवकबाट योगदान हुने महानगरपालिकाले अपेक्षा गरेको छ ।

 

प्रकाशित : 24 April, 2024

प्रतिक्रिया दिनुहोस्