नियामकीय व्यवस्था उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकको कारबाही
काठमाडौं । वैशाख २०, नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गर्ने ६ बैंकलाई कारबाही गरेको छ ।
चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्दा चार वाणिज्य बैंकलाई कारबाही गरेको हो ।
यस्तै शुद्धीकरण निवारण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेकोमा दुई विकास बैंकलाई पनि विभागले कारबाही गरेको छ ।
नियामकीय व्यवस्था उल्लंघन गर्ने लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही भएको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था उल्लंघन गर्ने लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंक पनि कारबाहीमा परेको हो ।
राष्ट्र बैंकले लक्ष्मी सनराइज (साविकको लक्ष्मी बैंक) को संस्थापक सेयरधनी राजेन्द्रकुमार खेतानलाई १० लाख रुपैयाँ नगद जरिवाना गराएको छ ।
बैंकको १ प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनी खेतानले सोही बैंकका ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड कर्जामध्ये ११ करोड ४४ लाख आफ्नो खातामा ट्रान्सफर गरी/गराइ उपयोग गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।