नक्कली लाइसेन्स प्रकरणमा सीआईबीको हिरासतमा ७ जना पक्राउ

काठमाडौं । वैशाख २१, नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ ।
विभिन्न मितिमा पक्राउ परेका सातै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले नक्कली लाइसेन्स बनाउने काममा संलग्न भएका कर्मचारीदेखि नक्कली लाइसेन्स लिनेसम्मलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ३ जना नक्कली लाइसेन्स बनाउने काममा संलग्न छन् भने ४ जना नक्कली लाइसेन्स लिनेहरु रहेको एसपी बोगटीले बताए ।
प्रहरीले वैशाख १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमै करार इन्जिनियरको रुपमा कार्यरत हरिश भट्ट पक्राउ गरेका थिए ।
गत सोमबारमात्रै यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई सीआईबीले पक्राउ गरेको थियो ।
प्रहरीले अहिले नक्कली लाइसेन्स लिनेहरुलाई पनि पक्राउ गर्न सुरु गरेको छ । जसमा अहिलेसम्म ४ जना नक्कली लाइसेन्स लिनेहरु पक्राउ परेको एसपी बोगटीले बताए ।
नक्कली लाइसेन्स लिएको आरोपमा पक्राउ पर्नेहरुमा लजारस दनुवार, प्रदीप सुनार, अजित मिश्र र मिलन बास्तोला छन् । उनीहरु सबैलाई हिरासतमा राखेर सीआईबीले अनुसन्धान अघि बढाएको छ ।
सर्वसाधारणको विवरणहरु तोडमोड गरेर लिखित परीक्षा र ट्रायल बिना नै विभिन्न व्यक्तिका नाममा लाइसेन्स जारी गरिएको सीआईबीको अनुसन्धानमा खुलेको छ ।