आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम
काठमाडौं । वैशाख २१, न्युरोडस्थित आरबी कम्प्लेक्स (रणमुक्तेश्वर बिजनेस कम्प्लेक्स) र पिपुल्स प्लाजाले काठमाडौं महानगरपालिकालाई अहिलेसम्म विभिन्न कर नतिरेको भेटिएपछि महानगरले ७ दिनभित्र विवरण र ३५ दिनभित्र कर बुझाउन अल्टिमेटम दिएको छ ।
यी दुवै प्लाजा वडा नम्बर २२ मा छन् । आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन । पिपुल्स प्लाजाले नियमित तीन आर्थिक वर्षको कर तिरेको छैन । बहाल कर दुवैले तिरेका छैनन् ।
बिहीबार प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको राजस्व स्थलगत सुपरीवेक्षण तथा अनुगमन टोलीले दुवै कम्प्लेक्स सञ्चालकसँग करसम्बन्धी विवरण माग्दा यस्तो अवस्था देखिएको हो ।
त्यसपछि महानगर टोलीले कम्प्लेक्स सञ्चालकलाई ७ दिनभित्र विवरण पेस गर्न र ३५ दिनभित्र वडा कार्यालय गएर बक्यौता तिर्न पत्र दिएको छ ।
महानगर राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा तीन प्रकारका राजस्व अनुगमन टोलीको व्यवस्था गरिएको छ ।
एउटा वडा स्तरीय टोली छ । यसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभाग कर्मचारी रहने व्यवस्था छ । अर्को, केन्द्रमा राजस्व विभाग स्तरको टोली हुन्छ । यी दुवै टोलीले गरेका काम अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा टोलीको व्यवस्था गरिएको छ ।
अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले दुवै कम्प्लेक्स सञ्चालकलाई घर बहालमा लगाउँदा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारमा बुझाउनुपर्ने कानुनी व्यवस्था भएकाले यसैबमोजिम कर बुझाउन आग्रह गरे ।