डढेलो नियन्त्रणमा हेलिकप्टरको प्रयोग गर्नुपर्ने गृहमन्त्री रविको प्रस्ताव

काठमाडौं । वैशाख २१, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
गृहसचिव एकनारायण अर्यालका अनुसार कतिपय मुलुकले आगो निभाउन हेलिकप्टरको प्रयोग गर्दै आएको र त्यो प्रभावकारी समेत देखिएको भन्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले मन्त्रिपरिषद्को बैठकमा आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने प्रस्ताव राखेका हुन् ।
शुक्रबार राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’मा विपद् व्यवस्थापन सम्बन्धमा छलफल थियो ।
विपद् जोखिम न्यूनीकरणका लागि गरिएका तयारी तथा भावी कार्ययोजनाबारे जानकारी गराउँदै गृहसचिव अर्यालले दक्ष जनशक्ति, स्रोत र उच्च प्रविधियुक्त उपकरणको अभाव रहेको बताए ।
आगलागी नियन्त्रणका लागि दक्ष जनशक्ति, स्रोत र उच्च प्रविधियुक्त उपकरणका साथसाथै हेलिकप्टर प्रयोग गर्ने सम्बन्धमा संसदीय समितिले सरकारलाई निर्देशन गरिदिए हुन्थ्यो भन्नेसमेत गृह मन्त्रालयको अपेक्षा रहेको अर्यालले बताए ।
दीर्घकालीन नीति अन्तर्गत आगलागी नियन्त्रण गर्न र तयारीका लागि सातै प्रदेशमा गोदाम घर तथा मानवीय सहायता कोष बनाउने योजना रहेको गृहसचिव अर्यालले जानकारी दिए ।
साथै बन्द रहेका विमानस्थलमा आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण राख्ने चाहना समेत मन्त्रालयको रहेको उनले बताए ।