केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

सहयात्रा टिभी

काठमाडौं । वैशाख २२, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् । सो प्रयोजनका लागि प्रदेशसभा बैठकको बैठ अपराह्न साढे ५ बजेका लागि बोलाइएको छ ।

यसअघि हिजोका लागि बोलाइएको बैठक मुख्यमन्त्री सोडारीकै अनुरोधमा आजका लागि सारिएको हो । नेकपा एमालेले विश्वासको मत दिने विषयमा निर्णय नगर्दा मुख्यमन्त्रीका लागि आह्वान गरिएको शुक्रबारको बैठक स्थगित गरिएको थियो ।

पार्टीको रेशम चौधरी पक्षले सोडारीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ भने रञ्जिता श्रेष्ठ पक्षका दुई सांसद विश्वासको मत दिने तयारीमा छन् । उनीहरू दुवै जना प्रदेश सरकारमा सहभागी छन् ।

नेपाली कांग्रेसले भने मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ । असंवैधानिक ढंगले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने निर्णय गरेको छ ।

सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। विश्वासको मत लिन उनलाई जेठ ५ गतेसम्मको समय छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ सांसद आवश्यक पर्छ । एमाले, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति रञ्जिता पक्षका दुई सांसद र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

प्रकाशित : 4 May, 2024

प्रतिक्रिया दिनुहोस्