केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत मागे

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २३, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् ।

गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले आइतबार प्रदेशसभामा विश्वासको मत मागेका हुन् ।

संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागेका हुन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना पुग्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकार अल्पमतमा परेपछि विश्वासको मत पाउने स्थिति नदेखेपछि गत चैत २१ गते तत्कालिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको ३ बजेसम्मका लागि समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

तर २५ चैतमै सभामुखसहितको संख्या गणना गरेर एमाले संसदीय दलका नेता अधिकारीले दाबी पेश गरेपछि प्रदेश प्रमुख भट्टले उनलाई मुख्यमन्त्रीमा नियुक्ति दिए ।

सभामुख कृष्णप्रसाद धिताललाई समेत गणना गरी मुख्यमन्त्री नियुक्त भएपछि निवर्तमान मुख्यमन्त्री पाण्डे सर्वोच्च गएका थिए । सर्वोच्चले अधिकारीलाई विश्वासको मत लिएर आफूलाई बहुमत पुष्टि गर्न बाटो खुला गरिदिएको थियो ।

 

 

प्रकाशित : 5 May, 2024

प्रतिक्रिया दिनुहोस्