केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज काठमाडौं फर्किंदै

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २४, पार्टी विभाजनको सूचना पाएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज काठमाडौं फर्किंदै छन् ।

उनी कतारको राजधानी दोहाबाट आज राति काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । वर्तमान सरकारमा स्वास्थ्यमन्त्री समेत रहेका यादव गत हप्ता अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा पाँच दिन र कतारमा दुई दिनको कार्यक्रम थियो ।

उनी अमेरिकाबाट कतार आएकै दिन जसपाका अशोक राई नेतृत्वको समूहले अलग पार्टी दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

शुक्रबार अमेरिका उडेका यादव स्वदेश नफर्कदै राई, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठले दल विभाजन गरेका हुन् ।

सो सूचना पाएलगत्तै अध्यक्ष यादव कतारका कार्यक्रम रद्द गरी काठमाडौं फर्किन लागेको उनको सचिवालयले जनाएको छ । अध्यक्ष यादव आज राति ११ बजेपछि काठमाडौं आइपुग्ने बताइएको छ । ‘कतारबाट आज बेलुका ६ बजेको फ्लाइट छ,’ स्रोतले भन्यो ।

पार्टी विभाजनपछि उपेन्द्र यादव पक्षका नेताहरु आन्तरिक र अनौपचारिक छलफलमा छन् । जसपाका प्रवक्ता मनिष सुमनले पार्टी अध्यक्ष यादव काठमाडौं फर्किएपछि औपचारिक बैठक बसेर छलफल गर्ने बताए ।

 

प्रकाशित : 6 May, 2024

प्रतिक्रिया दिनुहोस्