केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आफ्नो भूभागमा सार्वभौमसत्ताको अभ्यास गर्न पाउनुपर्छ: परराष्ट्रमन्त्री श्रेष्ठ

सहयात्रा टिभी

काठमाडौँ । वैशाख २४, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लिपुलेक, लिम्पयाधुरा र कालापानीमा नेपालले आफ्नो सार्वभौमसत्ताको अभ्यास गर्न पाउनुपर्ने बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले नेपालको भूभागमा नेपालले सार्वभौम सत्ता र भौगोलिक अखण्डताको अभ्यास गर्न पाउनुपर्ने बताए ।

नेपाल वार्ताद्वारा नै सीमा समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको भन्दै उनले भने, ‘तर, फेरि अरु कुनै ढुंगले होइन, कुटनीतिक माध्यमद्वारा टेबुलबाट नै समस्याको समाधान गर्नुपर्छ भन्नेमा हामी छौं । यसको निम्ति हाम्रो पहल जारी छ ।’

गत बिहीबार सरकारले एक सय रुपैयाँको नोटमा अहिलेको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो । यसप्रति भारतीय विदेशमन्त्री एस जयशंकरले असन्तुष्टि जनाएका छन् । आइतबार भारतका पत्रकारहरुसँग कुरा गर्दै उनले नेपालले एकतर्फी निर्णय गरेको टिप्पणी गरेका थिए ।

सोमबार बसेको समिति बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद राजेन्द्र लक्ष्मी गैरेले कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्साको कार्यान्वयनको विषयमा जवाफ मागेकी थिइन् ।

जवाफमा परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल र भारतका बीचमा रहेको सीमा समस्या वार्ताको टेबुलमा रहेको तर समाधान भइनसकेको बताए ।

नेपाल र भारतको बीचमा रहेको सीमा समस्या सहितका विषयमा सुझाव दिन गठित ईपिजीको प्रतिवेदन बुझ्न नेपाललाई कुनै अप्ठ्यारो नरहेको र यही सन्देश भारतसमक्ष नेपालले पुर्‍याएको पनि परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।

 

प्रकाशित : 6 May, 2024

प्रतिक्रिया दिनुहोस्