केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गृहमन्त्री रविमाथि संसदीय छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्

सहयात्रा टिभी

काठमाडौं । वैशाख २६, नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने अडान यथावत् गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तहका नेताको बैठकले संसदीय छानबिन समिति बनाउने पूर्वअडान कायम राख्ने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए ।

‘संसद अधिवेशन सरकार चलाउने गरी आउँछ कि आउँदैन । त्यो सरकारको हातमा छ’, गुरुङले भने,‘लाखौं लाख जनता ठगिएको प्रकरण हो । २र४ जना ठगिएको विषय होइन यो । संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नेमा हाम्रो अडान यथावत् छ ।’

सरकारले २८ वैशाखदेखि संसदको बजेट अधिवेशन बोलाएको छ । अघिल्लो संसद बैठकमा पनि कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको थियो । कांग्रेसले संसदीय समिति माग गरिरहँदा ३ वैशाखमा सरकारले संसद बैठक अन्त्य गरेको थियो ।

बुधबार बसेको कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा गण्डकीको सरकार निर्माणमा भइरहेका गतिविधि माथि पनि छलफल भएको थियो ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाउँदा पनि असंवैधानिक तरिकाले पाएको घोषणा गरिएको कांग्रेसको भनाइ छ ।

२८ वैशाखबाट बस्ने संसदमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले बिहीबार दिउँसो २ बजे संसदीय दलको बैठक समेत बोलाएको छ ।

प्रकाशित : 8 May, 2024

प्रतिक्रिया दिनुहोस्