केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नमा ढिलाइ

सहयात्रा टिभी

काठमाडौं । वैशाख २८, प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नमा ढिलाइ भएको छ ।

साढे १२ बजे बस्ने भनिएको बैठक २ बजेसम्म पनि सुरु हुन सकेको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठकपछि मात्रै प्रतिनिधि सभाको बैठक बस्ने छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेलाई बोाइएको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा प्रतिनिधि सभाको बैठक नै प्रभावित भएको छ ।

कार्यव्यवस्था बैठकको तयारीका लागि दलका नेताहरू छुट्टाछुट्टै संवादमा छन् ।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुन लागेको हो । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ । सभामुख घिमिरेले बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनको जानकारी पनि गराउने छन् ।

अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरूले शुभकामना दिने गर्दछन् । दलीय आधारमा नेताहरूले बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची छ ।

सम्भावित कार्यसूची कार्यव्यवस्था परामर्श समितिबाट अनुमोदन भएमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची छ ।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने निर्णय गरेको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै आएको छ । गृहमन्त्रीमाथि छानबिन गर्ने गरी समिति बन्नुपर्ने कांग्रेसको माग छ ।

प्रकाशित : 10 May, 2024

प्रतिक्रिया दिनुहोस्