त्रिभुवन विमानस्थलबाट ५ किलो सुनसहित २ भारतीय पक्राउ, कपडामा सुनको लेप

काठमाडौं । जेठ १, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पाँच केजी सुनसहित दुई जना पक्राउ परेका छन् । सोमबार फ्लाइ दुबईको फ्लाइटबाट काठमाडौं आएका दुई भारतीय नागरिक पाँच केजी सुनसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ३४ वर्षीय मोहन कुमार गणेशन र ३३ वर्षीय सुरेश कुमार रहेका छन् । उनीहरु दुबईबाट त्रिभुवन विमानस्थल आएका थिए । सुराकीले दिएको विशेष सुराकीको आधारमा उनीहरुलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुले कपडामा सुनको लेप लगाएका ल्याएका थिए । चेकजाँच गर्दा मोहनले लगाएर आाएको कालो रङको टि-सर्ट, निलो रङको जिन्स पाईन्ट र निलो रंगको भित्री वस्त्र (अण्डरवेयर) को तौल २५०० ग्राम र सुरेशल लगाएर आएको सेतो रङको टि-सर्ट, कालो रङको जिन्स पाईन्ट र निलो रंगको भित्री वस्त्र (अण्डरवेयर) को तौल २५०० ग्राम अस्वभाविक देखिएको थियो ।
एक्सरे मेसिनमा स्क्यानिङ गरेर हेर्दा अरु कपडाको भन्दा फरक किसिमको आकृती देखिएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिए । उक्त कपडाहरुलाई च्यातेर हेर्दा सुन लेपन र पेष्ट गरिएको पाइएको थियो ।
उनीहरुमाथि आवश्यक कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको कार्यालयले जनाएको छ ।