देशभर आंशिक बदली, चार प्रदेशमा वर्षा हुने

काठमाडौं । जेठ १, हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेको छ।
यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदली रहने छ।
कोशी,बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेश र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हवाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।