सशस्त्रको गोदाम आगलागीमा सुरक्षा लापरवाही भएको गृहको निष्कर्ष

काठमाडौं । जेठ २, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकको गोदाममा एक महिनाअघि भएको आगलागीबारे छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको समितिले सुरक्षा लापरवाही भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ ।
सहसचिव भरतमणि पाण्डे नेतृत्वको समितिले सशस्त्र प्रहरीको भण्डार महाशाखा अन्तरगत रहेको गोदाममा सुरक्षा लापरबाही भएको निष्कर्षसहित केही दिनअघि प्रतिवेदन बुझाएको हो ।
सशस्त्र प्रहरीको गोदाममा २६ चैतको अपराह्न ४ बजेतिर आगलागी हुँदा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्याग लगायत बन्दोबस्तीका सामानहरु जलेर नष्ट भएका थिए ।
दुई दिनपछि छानबिनका लागि गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डेको नेतृत्वमा समिति बनाएको थियो भने सशस्त्र प्रहरी बलले पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल नेतृत्वको समिति बनाएको थियो ।
पाण्डे नेतृत्वको समितिका एक सदस्यका अनुसार, समितिले आगलागीको कारण यकिन त गर्न सकेन । तर कम्तिमा ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज जलेर नष्ट हुनुलाई ‘पर्याप्त सुरक्षा संवेदनशीलता नअपनाउनु’को परिणाम भनेको छ । ३७ हजार बुट राखिएको ठाउँमा एउटा सीसी क्यामरा समेत राखेको नपाइएको ती सदस्यले बताए ।