त्रिचन्द्र क्याम्पस र आन्दोलनरत शिक्षकहरूबीच सहमति

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, त्रिचन्द्र क्याम्पस प्रशासन र आन्दोलनरत आंशिक शिक्षकहरूबीच सहमति भएको छ ।

बुधबार साँझ भएको वार्तामा केही महिनाको पारिश्रमिक पुरानै दरमा दिने र त्रिवि कार्यकारीको निर्णय आएपछि सोही अनुसार लिनेरदिने सहमति जुटेको क्याम्पस प्रमुख प्रा.डा. निलम श्रेष्ठले जानकारी दिइन् ।

आंशिक शिक्षकलाई दिइने पारिश्रमिकको विषयमा दुई पक्षबीच विवाद भएको थियो । २०७७ सालदेखि आंशिक शिक्षकहरूले प्रतिपिरियडको ५९० रुपैयाँ पाउँदै आएका थिए ।

गत वर्ष लेखाले बेरुजु देखाएको भन्दै एक पिरियड पढाएको ३९४ रुपैयाँमात्रै दिने भनेपछि आंशिक शिक्षकहरूले विरोध जनाएका थिए ।

पहिले पाउँदै आएकै दरमा पारिश्रमिक पाउनुपर्ने अडान उनीहरूको थियो । तर क्याम्पसले एक घण्टाको लागि तोकिएको पारिश्रमिक ४० मिनेट पढाउँदा दिन नमिल्ने भनेपछि उनीहरू पढाइ ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

करिब ७० प्रतिशत कक्षाभार लिइरहेका आंशिक शिक्षकहरूले ३ जेठबाट पारिश्रमिकको माग गर्दै प्रशासन, लेखा, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरूको कार्यकक्षमा ताला लगाएर कक्षा लिन छाडेपछि पढाइ ठप्प भएको थियो ।

त्रिचन्द्र क्याम्पसमा हाल २१६ जना आंशिक शिक्षक कार्यरत छन् ।

 

प्रकाशित : 23 May, 2024

प्रतिक्रिया दिनुहोस्