सिरोहियामाथिको अनुसन्धान सकिएन, म्याद थप गर्न अदालत लैजाने प्रहरीको तयारी

काठमाडौं । जेठ ११, नागरिकता कीर्ते सम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः म्याद थपका लागि धनुषा प्रहरीले आज अदालत लैजाने तयारी गरेको छ ।
धनुषा जिल्ला अदालतले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको थियो । म्याद बिहीबार नै सकिएको छ । तर बिहीबर सार्वजनिक बिदा रहेकाले प्रहरीले आज अदालत लैजाँदैछ ।
अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले जानकारी दिए ।
नागरिकता कीर्ते अभियोगमा जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले जेठ ८ गते सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई सोही दिनको राति सडकमार्गबाट जनकपुरधाम ल्याएर अदालतमा पेस गरिएको थियो ।