केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जुम्लामा अतिक्रमित वन क्षेत्र हटाउने क्रममा एक हजार बोट स्याउ फाँडियो

सहयात्रा टिभी

काठमाडौं । जेठ १३, जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ भाडगाउँमा अतिक्रमित वन क्षेत्र हटाउने क्रममा डिभिजन वन कार्यालयले स्याउका करिब एक हजार बोट फँडानी गरेको छ ।

स्यानीपाताल काफलबारी सामुदायिक वन अतिक्रमण क्षेत्र हटाउने क्रममा फल दिइरहेका स्याउका बोट काटिएको हो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले स्थानीयले वन क्षेत्र अतिक्रमण गरेर स्याउ खेती गरेकाले त्यसलाई हटाइएको बताए ।

‘वन क्षेत्रमा स्थानीयले कानुन विपरीत स्याउ रोप्ने, अरु बिरुवा पनि लगाउने, खेतीपाती गर्ने, टहरा बनाउने गरेका थिए । त्यसलाई हटाउन वन कार्यालयले सहयोग मागेपछि हप्ता-दश दिन अगाडि अतिक्रमण हटाउने कारबाही गरिएको हो,’ उनले भने ।

सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा प्रहरीसमेत परिचालन गरेर धमाधम रुख बिरुवा काटिरहेको देखिन्छ । स्थानीयका अनुसार स्याउका बोट फेंदैदेखि काटिएको छ ।

डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बुढथापाले यही जेठ ४ गते करिब ८ देखि १० हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको जानकारी सिंजा-हिमा सब डिभिजन वन कार्यालयले आफूहरुलाई गराएको बताए ।

सिंजा-हिमा सब डिभिजन वन कार्यालय नराकोटका प्रमुख क्षेत्रबहादुर महतले स्यानीपाताल काफलबारी सामुदायिक वनको करिब १० हेक्टर अतिक्रमण हटाइएको बताए ।

सिंजा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लालबहादुर बुढाले स्थानीयकै सहयोगमा अतिक्रमण हटाउन सफल भएको भन्दै त्यहाँ पशुचौपाया छाडा छाड्न पनि रोक लगाइएको बताए ।

 

 

प्रकाशित : 26 May, 2024

प्रतिक्रिया दिनुहोस्