केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टी-२० विश्वकप : दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी श्रीलंकासँग भिड्दै नेपाल

सहयात्रा टिभी

काठमाडौं । जेठ २९, बुधबार नेपालले आईसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो खेल खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे नेपाल र श्रीलंकाको खेल सुरु हुनेछ। समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन छन्।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। १०७ रनको चुनौती दिएको नेपाललाई नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १८.४ ओभरमा १०९ बनाएर ६ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्सँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले टेस्ट राष्ट्र एवम् विश्वकपको विजेतासमेत रहेको श्रीलंकालाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्य राखेको छ।

श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो। श्रीलंकासमेत तेस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ। टेस्ट राष्ट्र श्रीलंकासँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।

१० वर्षपछि विश्वपमा सहभागी भएको नेपाल टेस्ट राष्ट्रलाई पराजित गर्दै विश्व मैदानमा आफ्नो क्रिकेट स्थापित गर्न चाहन्छ। पारस खड्काको कप्तानीमा बंगलादेशमा २०१४ मा भएको विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ। १० वर्षअघि विश्वकप टोलीमा रहेका राष्ट्रिय टिमका खेलाडीमध्ये अहिले सोमपाल कामीबाहेक सबै नयाँ छन्।

विश्वकप खेल्ने नेपाली टिम

टी–२० विश्वकप खेल्ने नेपाली टिममा अमेरिकी भिसा नपाएका सन्दीप लामिछानेसमेत थपिएका छन्। उनले वेस्ट इन्डिजमा हुने खेल मात्र खेल्नेछन्। नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

वेस्ट इन्डिजमा हुने खेलका लागि भने प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको नेपाल क्रिकेट संघले जनाएको छ। सन्दीपको नाम विश्वकप खेल्ने सूचीमा समेटिएको भए पनि अमेरिकाले भिसा नदिएपछि आईसीसीसँगको समन्वयमा गोप्य राखिएको क्यानका सचिव खड्काले विज्ञप्तिमार्फत् सोमबार जानकारी दिएका थिए। सन्दीपले देशका लागि विश्वकप खेल्ने आफ्नो सपना पुरा भएको भन्दै वेस्ट इन्डिज पुगेर सबैलाई धन्यवादसमेत दिएका छन्। उनी विश्वकपका लागि वेस्ट इन्डिजमा अभ्यास गरिरहेका छन्।

प्रकाशित : 11 June, 2024

प्रतिक्रिया दिनुहोस्