अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौं स्युचाटारस्थित भार प्रेषण केन्द्रसँगै अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको डाटा सेन्टर सञ्चालनमा ल्याएको हो ।

‘प्रि फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँ तलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष छ । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर छ ।

डाटा सेन्टरका लागि तोकिएको ‘टियर ३’ अन्तर्राष्ट्रिय मापदण्ड पालना गरी डाटा सेन्टर निर्माण गरिएको छ । प्राधिकरणले आफ्नो सेवा प्रवाह डिजिटल तथा आधुनिक बनाउने उद्देश्य पूरा गर्न ‘डिजिटल एनईए’ कार्यक्रम अन्तर्गत निर्माण गरिएको यो मोडेलको डाटा सेन्टर नेपालमै पहिलो हो ।

डाटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भर लगायत डाटा एकीकृत भण्डार गरी क्रमशः राखिने जनाइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डाटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डाटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागिरहेको बताए ।

घिसिङले डाटा सुरक्षाका लागि नवलपरासी सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपद् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

विपद् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डाटा सेन्टरलाई रिकभरी सेन्टरका रूपमा सञ्चालन गरिने छ ।

यसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसन जोडिने छन् । केन्द्रबाटै ११ केभीभन्दा मुनिको ग्राहकका घरसम्म पुग्ने विद्युत् वितरण प्रणाली व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । डाटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लिमिटेडसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई सोही वर्ष नोभेम्बरबाट काम सुरु भएको थियो ।

सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब १ अर्ब ४० करोड रुपैयाँ छ ।

 

 

प्रकाशित : 12 June, 2024

प्रतिक्रिया दिनुहोस्