कर्णालीको नमुना युवा मुख्यमन्त्रीमा चुनिए रोकाय र सभामुखमा परियार

काठमाडौं । जेठ ३१, संयुक्त आयोजनामा सञ्चालित नमुना युवा प्रदेश सभाको मुख्यमन्त्रीमा डोल्पाका धनु रोकाया चुनिएका छन् ।
त्यस्तै नमुना युवा सभामुखमा रुकुम पश्चिमका गणेश डाँगी र नमुना उपसभामुखमा हुम्लाकी प्रतिक्षा परियार चुनिएका छन् ।
कर्णालीको नमुना प्रदेशसभा मंगलबारदेखि सुर्खेतमा जारी छ । कर्णाली प्रदेशका सबै जिल्लाका विभिन्न पालिकाहरुमा नमुना युवा गाउँरनगर सभाको अभ्यासमा भाग लिएका १६ देखि २४ वर्ष उमेर समूहका युवा मध्येबाट छनौट भएका युवा प्रदेश सभा अभ्यासमा सरिक छन् ।
चार दिनसम्म चल्ने अभ्यासमा युवाहरुलाई संघ र प्रदेशको शासकीय प्रबन्ध, संवैधानिक अभ्यास, प्रदेश सभा सञ्चालन कार्यविधि, ऐन निर्माण प्रक्रिया, नेतृत्व विकास लगायतका विषयमा प्रशिक्षित गराइने छ ।
प्रादेशिक राजधानी सुर्खेतमा गत मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले नमुना प्रदेशसभाको उदघाटन गरेका थिए ।
त्यसक्रममा मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकारले आउँदो बजेटमा युवा सशक्तीकरणमा जोड दिने बताए । कंडेलले सीमित स्रोत र साधनका बाबजुद समग्र कर्णालीको विकासका लागि प्रदेश सरकार प्रयत्नशील रहेको बताए ।
प्रदेशका सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले युवाको सर्वाङ्गीण विकासमा मन्त्रालयले विशेष जोड दिइरहेको बताए ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई भविश्यका कर्णाधार मात्र नभएर वर्तमानका साझेदार बनाउनुपर्ने धारणा राखे । बस्नेतले युवाहरुलाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी गराइनुपर्ने बताए ।