केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ज्ञानेन्द्र शाहीले भूमिमन्त्रीलाई बालेनले झै काम गर्न सुझाव

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाएका छन् ।

भूमिको वर्गीकरण गर्न र वर्गीकरण अनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिनुपर्ने उनको आग्रह छ । अन्यथा मुलुक बन्न नसक्ने सांसद शाही बताउँछन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै उनले खानीयोग्य, औद्योगिक, कृषियोग्य र बसोबासको जमिन छुट्याउन आवश्यक रहेको बताए । यसका लागि सरकारले कठोर निर्णय लिएर अगाडि बढ्न सुझाए ।

उनी भन्छन्, ‘अप्रिय निर्णय गरिदिनुस्, जहाँजहाँ बस्ती हुन्छन् त्यो बस्ती भएका ठाउँमा कसैले खानी चलाउन पाउँदैन भन्ने नीति बनाउनुस् । जहाँजहाँ खेतीयोग्य जमिन छ, त्यो खेतीयोग्य जमिनमा बस्ती बसाउन पाउँदैन् भन्नुस्’ उनले भने ।

बनेको नीति कार्यान्वयन गर्ने सन्दर्भमा पनि आवश्यक परे कठोर भएर प्रस्तुत हुनुपर्ने उनको राय छ ।

‘कृषियोग्य जमिनमा कसैले बस्ती बसालेको छ भने काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले डोजर बोके जसरी बोकेर भत्काइदिनुस् । त्यसपछि बल्ल देश सही बाटोमा जान्छ,’ सांसद शाहीले भने ।

कृषियोग्य जमिन मासिँदै गएको उल्लेख गर्दै उनले सबै गम्भीर हुनुपर्ने बताए । भूमि सुधार गर्न नसके नेपालको भविष्य अन्धकारतर्फ उन्मुख हुने उनले बताए ।

प्रकाशित : 13 June, 2024

प्रतिक्रिया दिनुहोस्