केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेलम्चीको मुद्दा : विशेष अदालतले पूर्व सुनुवाइ छलफलको आदेश

सहयात्रा टिभी

काठमाडौँ । असार ३, विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा नियमित सुनुवाइ सुरु गर्नुअघि पूर्व सुनुवाइ छलफल गर्ने भएको छ ।

मेलम्चीको मुद्दामा प्रतिवादी बनाइएका सबै आरोपितहरु हाजिर भएपछि विशेष अदालतले पूर्व सुनुवाइ छलफलको आदेश दिएको हो ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गरेको आदेशमा भनिएको छ, ‘यस मुद्दाको विषयवस्तुको गम्भीरता मध्यनजर गरी पूर्व सुनुवाइ छलफल गर्न उपयुक्त देखिएकाले १३ असार, २०८१ मा पेशी तोकी नियमानुसार पेश गर्नू ।’

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार मुद्दाका पक्ष अदालतमा उपस्थित भइसकेपछि सुनुवाइअघि दुवै पक्षलाई बोलाएर मुद्दाको वास्तविक विषयवस्तुबारे छलफल गरिन्छ, त्यसलाई पूर्व सुनुवाइ छलफल भन्ने चलन छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन, २०८० मा मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबी गर्दै तीन पूर्वसचिव सहित १५ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका तत्कालिन अध्यक्षहरु खानेपानी मन्त्रालयका तत्कालिन सचिव डा। सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुरलाई अख्तियारले मुद्दा चलाएको थियो ।

प्रतिवादी र बिगोको हिसाबले ठूलो मेलम्चीको मुद्दामा सुरु भएको यो अभ्यास अन्य मुद्दाहरुमा पनि लागू गर्दै जाने विशेष अदालतका प्रवक्ता कार्कीले बताए । ‘छिटो र छरितो रुपमा मुद्दा व्यवस्थापन गर्न सकिने अनुमानका साथ ठूलो मुद्दाबाट यसको अभ्यास गर्न थालिएको हो ।’

प्रकाशित : 17 June, 2024

प्रतिक्रिया दिनुहोस्