सर्वोच्चको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने डा. केसीको चेतावनी

सहयात्रा टिभी

काठमाडौँ । असार ४, प्रा.डा. गोविन्द केसीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन भनेर सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पुनरावलोकन नभए अनशन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीले आज विज्ञप्ति जारी गर्दै आफ्नो माग पूरा नभए असार १४ गतेदेखि सत्याग्रह (अनसन) सुरु गर्ने चेतावनी दिएका हुन् ।

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट भएको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै आएका केसीले त्यसमा पुनरावलोकन आवश्यक रहेको बताएका छन् ।

उनले उक्त फैसलाको न्यायिक पुनरावलोकनको प्रक्रिया शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई अनुरोध समेत गरेका छन् । ‘चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दैछ भन्ने जानकारीमा आएकाले आयोगका सबै सदस्य महानुभावहरूलाई चिकित्सा शिक्षा ऐनको रक्षार्थ न्यायिक पुनरावलोकन प्रक्रिया तत्काल शुरू गर्ने निर्णय गर्नु हुन हार्दिक अनुरोध गर्दछौं,’ प्रा.डा. केसीले भनेका छन् ।

झापाको विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले मापदण्ड पूरा नगरेको भन्दै त्यसलाई सम्बन्धन दिन नहुने लगायतका माग गर्दै केसी विगतमा अनसन बस्दै आएका थिए । तर गत चैत १२ गते न्यायाधीशद्वय कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो ।

केसीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मेडिकल शिक्षासँग सम्बन्धित एउटा मुद्दामा हालै चिकित्सा शिक्षा ऐन तथा नियमावलीको ठाडो उल्लंघन गर्दै सर्वोच्च अदालतको संयुक्त इजलासबाट आएको फैसलाले आयोगको अस्तित्वमाथि थप प्रहार गरेको छ ।’

 

 

प्रकाशित : 18 June, 2024

प्रतिक्रिया दिनुहोस्