गृहमन्त्री रविको सरकारबाहिर रहँदाजस्तो हुटहुटी अहिले नदेखिएको टिप्पणी

सहयात्रा टिभी

काठमाडौँ । असार ४, नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमा सरकारबाहिर रहँदाजस्तो हुटहुटी अहिले नदेखिएको टिप्पणी गरेका छन्

मंगलबार प्रतिनिधि सभामा गृह मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सुरुमै भने, ‘गृहमन्त्रीमा हुटहुटी छ । तपाईंको हुटहुटीले नि काम गरेन ।’

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्ने प्रतिवद्धता गृहमन्त्रीले गरेको तर, कार्यान्वयन नभएको उनले सम्झाए ।

सहकारी पीडितहरु आन्दोलनमा रहेको तर, धेरै सहकारीको वचत रकम हिनामिना गर्ने जिबी राईलाई नियन्त्रणमा लिन सरकार असफल भएको भनेर थानीले प्रश्न उठाए ।

आज जिबी राई चर्चाको विषय छ । उहाँ गोर्खा मिडिया र सहकारीबाटै चर्चामा हुनुभयो’, सांसद थानीले भने, ‘२०८० चैत १० गते गृहमन्त्रीले जिबी राई आकाश हो कि पाताल जहाँ भएपनि हो समातोर ल्याउँछु भन्नुभएको थियो । त्यो याद छ कि छैन ?’

२०८१ वैशाख २९ गते भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जिबी राईलाई अघिल्लो सरकारले भगाएको भनेर गरेको टिप्पणीमाथि समेत थानीले प्रश्न उठाए ।

गृहमन्त्रीले तीनवटा फाइल खोले नेताहरु जेलमा हुने, संसदमा नहुने भनेर दिएको अभिव्यक्तिमाथि समेत सांसद थानीले प्रश्न गरे ।

‘तपाईंकै भाषा प्रयोग गरेको छु, तीन वटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन्, संसदमा हुँदैनन् भन्नुभयो तपाईंले । मुटु सिंहको जस्तो हुनुपर्छ फिस्टाको जस्तो होइन भन्नुभयो । तीनवटा फाइल के हो ? तपाईंको शक्तिले भ्याउँछ कि भ्याउँदैन ?, उनले सोधे ।

फाइल खोल्न किन ढिलो गरेको भन्ने उनको प्रश्न छ । ‘किन ढिलो गर्नुभएको छ फाइल खोल्न, अरुलाई फिस्टाको मुटु भन्नुहुन्थ्यो, तपाईं सिंहको मुटु भएको मान्छे के कारणले सुतिरहनुभएको छ अहिले ?’

उनले अगाडि भने, ‘कि भन्नुस् म सिंह हुँ, म सुतिराख्या छु उठेपछि जे पनि गर्छु ।’ गृहमन्त्रीले कांग्रेसलाई धम्क्याउन खोजेको आशंका गर्दै उनले धम्क्याउन छाडेर भ्रष्टाचार र अनियमितताका फाइलहरु खोल्न आग्रह गरे ।

सांसद थानीले गिरीबन्धु टी इस्टेटको जग्गा घोटालाको अनुसन्धान गर्न सक्नुहुन्छ भनी गृहमन्त्रीलाई प्रश्न गरे ।

‘गिरीबन्धु टि इस्टेटको छानबिन गर्न तपाईंको सिंहको मुटु छ ? सक्नुहुन्छ त्यसमा तपाईंले ? क्यान्टोनमेन्टको घोटालाको बारेमा तपाईं छानबिन गर्न सक्नुहुन्छ ? ओम्नी र यतीको बारेमा तपाईं छानबिन गर्न सक्नुहुन्छ ? थानीले सोधे ।

प्रकाशित : 18 June, 2024

प्रतिक्रिया दिनुहोस्