सर्लाहीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु, केही घाइते

सहयात्रा टिभी

सर्लाही । असार ६, सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा केही घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा बस ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा रूपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमूना अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । रूपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : 20 June, 2024

प्रतिक्रिया दिनुहोस्