भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार ७, भारतमा चरम गर्मीका कारण ३७१ भन्दा बढीको मृत्यु भएको छ ।

धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् ।

हुन त मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने बताइन्छ । तर चिकित्सकहरुले पनि अत्यधिक गर्मी र लुकै कारण भारतमा मानिसहरुको ज्यान गइरहेको बताएका छन् ।

अस्पतालहरुमा गर्मीका कारण बिरामी परेकाहरुको चाप पनि अत्यधिक छ । भारतमा बेवारिसे व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘सेन्टर फर होलिस्टिक डेभलमपेन्ट’ले जुन ११ देखि जुन १९ को बीचमा नयाँदिल्लीमा अत्यधिक गर्मीका कारण १९२ जना बेघर व्यक्तिहरुको मृत्यु भएको जनाएको छ ।

यसैगरी उत्तर प्रदेशमा १८ जुनमा मात्रै १७० जनाको मृत्यु हिट स्ट्रोकका कारण भएको थियो । उत्तर प्रदेशका धेरैजसो राज्यहरुमा अधिकतम तापक्रम ४७–४८ डिग्री सेल्सियससम्म पुगेको थियो ।

१९ जुनको राति आँधीपछि परेको पानीका कारण गर्मीमा थोरै राहत मिलेको थियो । तर हिट स्ट्रोकका कारण बिरामी परेकाहरु अहिले पनि अस्पतालमा उपचाररत छन् । अस्पतालहरुमा शय्या अभाव भएपछि भुइँमै राखेर पनि उपचार गराउनु परेको छ ।

बिरामीको चाप थेग्न नसकेपछि गम्भीर अवस्थाका बिरामीलाई मात्र अस्पतालमा भर्ना गरेर अन्यलाई औषधि दिएर घर पठाउने गरिएको छ ।

मनसुन भित्रिनु अघिसम्म भारतका अधिकांश शहरमा अत्यधिक गर्मीले जनजीवन नराम्रोसँग प्रभावित भएको थियो । कतिपय शहरमा अधिकतम तापक्रम ५० सम्म पुगेको समाचारहरु सार्वजनिक भएका थिए ।

गर्मीका कारण कतिपयले बाटोमा हिँड्दाहिँड्दै ज्यान गुमाएका छन् । सवारी साधनका चालक र कण्डक्टरहरुको पनि ज्यान गुमेको छ । भारतको परिवहन निगमका तीन चालक र एक कन्डक्टरको यात्राको क्रममा मृत्यु भएको छ । यस्तो मृत्युको सर्वाधिक आँकडा गाजियावादमा छ ।

प्रकाशित : 21 June, 2024

प्रतिक्रिया दिनुहोस्