एक महिनामै १ खर्ब ५० अर्ब बराबरको वस्तु आयात
काठमाडौं । असार ७, नेपालमा एक महिनामा १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २०८० मा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
चालु आवको जेठ महिनासम्म १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । वैशाख मसान्तसम्म १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
जेठमा आयात बढे पनि समग्र आयातको तथ्यांक गत वर्षको यसै अवधिको तुलनामा भने घटेको छ । जेठसम्म आयात १.८४ प्रतिशतले कम भएको देखिन्छ । अघिल्लो वर्ष जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाएको छ ।
यस वर्ष निर्यातमा समेत ठूलो उपलब्धि छैन । जेठसम्म १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ३.०१ प्रतिशतले कम हो । अघिल्लो वर्ष जेठसम्म १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ ।
आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा दुवै खुम्चिएको छ । कुल वैदेशिक व्यापारको आकार १५ खर्ब ९२ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १.९५ प्रतिशत कम हो । अघिल्लो वर्ष जेठसम्म १६ खर्ब २४ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।