काठमाडौंका सडक छेउका पोलहरुमा पोतेर संघ सरकारले छुट्यायो किल्ला

सहयात्रा टिभी

काठमाडौं । असार ११, काठमाडौंको मूल शहरी सडक छेउका पोलहरुमा सेतो रंग पोतेर ‘स. वि.’ लेखिएको  छ । धेरैलाई यो किन लेखिएको हो र कसले लेखिरहेको छ भन्ने जिज्ञासा छ ।

पोलमा ‘स. वि.’ लेख्ने काम अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले गरिरहेको हो । सडक डिभिजन कार्यालय काठमाडौंले आफ्नो क्षेत्राधिकारभित्रका सडकहरुको छेउका पोलमा ‘सडक विभाग’ को संक्षिप्त रुप ‘स. वि.’ लेखिरहेको छ ।

डिभिजन प्रमुख नारायणदत्त भण्डारी जनतालाई सडक विभाग मातहतका सडकहरु कुन–कुन हुन् भन्ने थाहा दिन पोलमा ‘स. वि.’ लेखिएको बताउँछन् ।

‘यो लेखेपछि सडक कसको क्षेत्राधिकारभित्र पर्ने रहेछ भन्ने जनतालाई छुट्याउन सहज हुन्छ’, उनले भने, ‘सडक बिग्रेको र बनेको जस अपसज सडक विभागले नै पाउँछ ।’

काठमाडौं महानगरपालिकाले सडक विभाग अन्तर्गतको सडक बिग्रँदा र समयमै मर्मत नहुँदा आफूमाथि अपजस आएको दाबी गर्दै आएको छ । सडक विभाग माहतहतका कतिपय सडकहरु चुस्त राखेको जस भने काठमाडौं महानगरपालिका र मेयर बालेनले पाउने गरेको डिभिजन सडक कार्यालयको बुझाइ छ ।

डिभिजन प्रमुख भण्डारी भन्छन्, ‘हामीसँग त कुन–कुन सडक सडक विभाग अन्तरगतको भन्ने विवरण छन्, जनतालाई पनि थाहा होस् भनेर पनि ‘स.वि.’ लेखिरहेका छौं ।’

काठमाडौं महानगरपालिकाका एक अधिकारी भने महानगरभित्रको सार्वजनिक क्षेत्रमा यसरी अनुमति विना भित्ते लेखन गर्न नपाइने बताउँछन् ।

‘सर्वोच्च अदालतले नै भित्ते लेखन गर्न नहुने भन्दै फैसला गरेको छ, सडक विभागले पोलमा लेखेर गरेको दृश्य प्रदुषण हो’, उनले भने, ‘यसबारे छलफल गरेर निर्णय हुन्छ ।’

१६ भदौ ०७२ मा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रमा रहेका व्यवसायिक होर्डिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो ।

उपत्यकामा जथाभावी विज्ञापन बोर्ड राख्दा दृश्य तथा वातावरणीय प्रदुषण भएकाले आम मानिसको स्वच्छ र स्वस्थ्य वातावरणमा हिँडडुल गर्ने अधिकार हनन भएको र सो कार्य गर्न वा नगराउन महानगरलाई सर्वोच्चले भनेको थियो ।

सर्वोच्चको आदेश विपरीत देखिएमा पोलमा लेखिएको अक्षरहरु मेटिने महानगरका ती अधिकारीले बताए । ‘अहिले पनि हामी पोलमा पर्चा, पम्प्लेट पोस्टर टाँस्न दिइरहेका छैनौं, टाँसेको पनि निकाल्दैछौं’, उनले भने, ‘सडक विभागको भित्तेलेखन पनि वैध देखिंदैन ।’

 

प्रकाशित : 25 June, 2024

प्रतिक्रिया दिनुहोस्