कर्मचारी ऐन संशोधनको मागसहित ९ दिनको आन्दोलनपछि काममा फर्किए

काठमाडौं । असार १४, कोशी प्रदेश निजामती ऐन संशोधनको मागसहित ९ दिनदेखि काम छाडेर आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरू काममा फर्किएका छन् ।
असारको अन्तिममा ४ अर्बभन्दा बढी सरकारी भुक्तानी रोकिएपछि लेखा समूहका कर्मचारी काममा फर्किएका हुन् ।
काममा फर्किएका कर्मचारीको माग सम्बोधन भने भएको छैन । तर सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएका कारण काममा फर्किएको लेखा समूहले बताएको छ । काममा फर्किए पनि हातमा कालोपट्टी बोधर काम गर्ने उनीहरूको निर्णय छ ।
लेखा समूहले माग पूरा नभएसम्म कालोपट्टी बाँधेर काम गर्ने निर्णय पनि गरेको छ । लेखा समूह कोशी प्रदेशको निजामती सेवा ऐन संशोधनको मागसहित ६ असारदेखि काम छाडेर आन्दोलनमा उत्रिएको थियो । बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले काममा फर्कन अपिल गरेका थिए ।
आन्दोलनमा उत्रिएका लेखा अधिकृतका अनुसार नयाँ निजामती ऐनका कारण संघबाट समायोजन भएका छैंठौं तहका अधिकृतको बढुवामा छुटेका छन् ।
आर्थिक वर्षको अन्त्यमा आयोगले विज्ञापन स्थगन नगर्ने र कर्मचारीले आन्दोलन नरोक्ने अडानका कारण प्रदेशको आर्थिक प्रणालीमा नै संकट देखिएको थियो । सरकारले लेखा समूहलाई आर्थिक संकट रोक्न आग्रह गरेपछि लेखा अधिकृतहरू आजबाट काममा फर्किएका हुन् ।