नयाँ संगठन संरचना स्वीकृत गर्दै २४ जना कर्मचारी कटौती

काठमाडौं । असार १६, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २४ जना कर्मचारीको दरबन्दी कटौती भएको छ ।
१० असारमा बसेको मन्त्रिपरिषद् बैठकले संघयि मामिला मन्त्रालयको नयाँ संगठन संरचना स्वीकृत गर्दै २४ जना कर्मचारी कटौती गरेको हो ।
उपसचिव र सोभन्दा तल्ला तहहरूमा दरबन्दी कटौती गरिएको हो । मन्त्रालयका सूचना अधिकारी आश्विनकुमार पोखरेलका अनुसार हालसम्म १७२ जनाको दरबन्दी थियो । अब मन्त्रालयमा १४८ जना मात्रै कर्मचारीको दरबन्दी कायम भएको छ ।
२० जना उपसचिवहरू रहेको मन्त्रालयमा २ जनाको दबरन्दी कटौती भएर १८ कायम भएको छ । ७ वटा शाखा अधिकृतको दबरन्दी काटेर ३९ मात्रै राखिएको छ ।
नासुतर्फ ३, कम्प्युटर अपरेटरमा ३, टाइपिस्ट सुब्बामा २, खरिदारमा ६ र कार्यालय सहयोगीमा ३ जना कर्मचारीको दरबन्दी काटिएको छ ।
मन्त्रालयमा एक जना आईटी निर्देशक (उपसचिव)को दरबन्दी थपिएको छ । यसअनुसार २५ वटा दरबन्दी कटौती गरेर एउटा थप्दा कुल २४ जना कर्मचारी घट्ने भएको सूचना अधिकारी पोखरेलले बताए ।
मन्त्रालयमा प्रशासनतर्फका ६ जना सहसचिव कायमै छन् । मन्त्रालयले एक जना प्राविधिक सहसचिव ९सुई०को नयाँ दबरन्दी कायम गर्न गरेको प्रस्ताव भने अस्वीकृत भएको छ ।
अहिलेसम्म संघीय मामिला मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मात्रै नयाँ संगठन संरचना स्वीकृत भएको छ ।