एमाले बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड नैतिक सङ्कटमा

काठमाडौँ । असार २०, सत्ता साझेदार मुख्य दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नैतिक सङ्कटमा पर्नुभएको छ ।
सोमवार राति कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि मंगलवार बसेको माओवादी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेको थियो । तर हिजो एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्री थप दबाबमा पर्नुभएको छ ।
अब राजीनामा दिने या संसदमा विश्वासको मतको सामना गर्ने विकल्प प्रधानमन्त्रीसँग छ । एमालेले सरकार छाडेपछि प्रधानमन्त्री अल्पमतमा पर्नुभएको छ र अब उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभन्दा प्रधानमन्त्रीलाई मार्गप्रशस्त गरिदिन हिजोसम्मको समय दिएको थियो ।
तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । त्यसलगत्तै मन्त्रीहरूले राजीनामा दिएका हुन् ।
कांग्रेसले पनि राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गरिसकेको छ ।
संसदका मुख्य दुई दलले संविधानको धारा ७६(२) बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकोमा प्रतिनिधिसभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न उचित हुने कांग्रेसको ठहर छ ।