केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सन्दीपले अब लाफ्टर फर लाइफ मार्फत हँसाउने

सहयात्रा टिभी

काठमाडौँ । असार २१, भनिन्छ, हाँसो एक उत्तम औषधि हो । यही सिद्धान्तलाई आत्मसात् गर्दै कमेडीयन सन्दीप क्षेत्रीले ‘लाफ्टर फर लाइफ विद सन्दीप क्षेत्री’ कार्यक्रम गर्ने भएका छन् । झम्सिखेल अवस्थित मोक्षमा आयोजना हुने कार्यक्रममा दर्शकले केही फरक कमेडीको मज्जा दिन सक्ने सन्दीपले बताए ।

‘अहिले हामीले ६ वटा शोको तयारी गरेका छौं’ सन्दीप भन्छन्, ‘हरेक शोमा फरक फरक पेसा–व्यवसायका मान्छेहरूलाई आमन्त्रण गर्नेछौँ ।’ जस्तो, एउटा शोमा शिक्षकहरु आमन्त्रित हुनेछन् भने अर्कोमा चिकित्सकहरू । एउटै पेसा व्यवसायमा आबद्ध व्यक्तिलाई एकै ठाउँमा राखेर उनीहरूको जीवन भोगाइसँग सम्बन्धित सामाग्री फस्कँदा त्यो बढी प्रभावकारी हुने उनको विश्वास छ ।

‘निश्चित पेसा व्यवसायका दर्शक छन् भने उनीहरूलाई लक्षित गरेर आफ्नो प्रस्तुति दिन पाइन्छ’ सन्दीप भन्छन्, ‘यसले उनीहरूलाई बढी स्पर्श गर्छ ।’ कार्यक्रममा दर्शकलाई डिजिटल आमन्त्रण गरिने उनले बताए । कार्यक्रम हेर्नका लागि कुनै शुल्क लाग्ने छैन । यस्तो शैलीको कार्यक्रम गर्नुको ध्येय भनेको ‘गुणको बदला गुण तिरेजस्तै’ भएको उनी बताउँछन् ।

‘मलाई आज सन्दीप क्षेत्री बनाउने उनीहरू नै हुन्’ उनी भन्छन्, ‘त्यसको बदलामा मैले पनि केही त गर्नुपर्छ भनेर यो कार्यक्रमको डिजाइन गरिएको हो ।’ झम्सिखेलस्थित मोक्ष बारमा अर्को सप्ताहन्तदेखि मासिक रूपमा यो कार्यक्रम हुने सन्दीपले जानकारी दिए । कार्यक्रममा सन्दीपले एक घण्टासम्म एकल प्रस्तुति दिनेछन् ।

प्रकाशित : 5 July, 2024

प्रतिक्रिया दिनुहोस्