केपी ओली प्रचण्ड माधव नेपाल एमाले


त्रिवि पदमा नियुक्ति पाउन अब राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने

सहयात्रा टिभी

काठमाडौँ । असार २१, त्रिभुवन विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ ।

विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ सार्वजनिक गरेको छ, जसमा कुनै पनि पदको उम्मेदवारले दलको सदस्य नभएको स्वघोषणा अनिवार्य गरिएको छ ।

अहिलेसम्म नियुक्तिसम्बन्धी मापदण्ड नहुँदा राजनीतिक भागबन्डा हुने गरेको थियो । तत्कालीन उपकुलपति धर्मकान्त बास्कोटाको पालामा कीर्तिपुर केन्द्रीय विभाग प्रमुखहरूको नियुक्ति सम्बन्धी विनियम बनाएका थिए, जसले ‘वरिष्ठतम शिक्षकहरू मध्येबाट विभागीय प्रमुख हुने,’ व्यवस्था गरेको छ ।

त्यस बाहेकका पदमा गरिने नियुक्तिबारे मापदण्ड भने बन्न सकेको थिएन । प्रा.डा.केशरजंग बराल उपकुलपति भएपछि डिन, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक, प्रिन्सिपल र क्याम्पस प्रमुख नियुक्तिसम्बन्धी विनियम ल्याएको छ ।

विनियमले हरेक पदको नियुक्तिका लागि इच्छुक उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषण गर्नुपर्नेछ । त्रिविका रेक्टर प्रा.डा. खड्ग केसी भन्छन्, ‘राजनीतिक भागबन्डालाई निरुत्साहित गर्न यो बुँदा राखिएको हो ।’

हरेक पदका मापदण्ड बनाएर त्रिविको विश्वविद्यालयको नियुक्तिलाई पारदर्शी, प्राज्ञिक, गैरराजनीतिक बनाउन खोजिएको उनले बताए । ‘विश्वविद्यालयलाई प्राज्ञिक बनाउने दृढ संकल्पका साथ विनियम ल्याएका छौं । यसलाई पूर्णतः कार्यान्वयन गराउछौं,’ रेक्टर केसीले भने ।

विनियममा कुनै पनि संकाय वा संस्थानको डीन छनोट तथा सिफारिसका लागि तीन सदस्य छनोट समिति रहने व्यवस्थासमेत गरिएको छ । समितिले त्रिविका ९ संकायका डीनका लागि प्रत्येक संकायगत उत्कृष्ट तीन उम्मेदवारको नाम सिफारिस गरेपछि परिषद्ले नियुक्त गर्नेछ ।

एउटै पदावधिका लागि एउटै व्यक्ति डीन पदमा दुई पटकभन्दा बढी नियुक्त नहुने समेत विनियममा व्यवस्था छ ।

अरू संकायको डीन नियुक्तिका लागि विद्यावारिधि (पीएचडी) र चिकित्साशास्त्र अध्ययन संस्थानतर्फ एमडीको शैक्षिक योग्यता अनिवार्य गरिएको छ ।

 

प्रकाशित : 5 July, 2024

प्रतिक्रिया दिनुहोस्