नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बस्यो

काठमाडौँ । असार २३, नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बसेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएरपछि एमाले प्रतिपक्षी बेञ्न्चमा बसेको हो ।
हाल प्रतिनिधिसभामा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेञ्चमा छ । एमाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँगै बसेको छ । आइतबारको बैठकमा प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले दुवै प्रतिपक्षी बेञ्चमा देखिएका हुन् ।
प्रतिनिधि सभाको बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन भनेको छ । राजीनामा नदिएर संसदमा विश्वासको मत परीक्षण गरे विश्वासको मत नदिने एमालेको निर्णय छ ।
प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन् । प्रतिपक्षी बेन्चबाट बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले बहुमत गुमाएको बताए ।
‘नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा नयाँ राष्ट्रिय सरकार निर्माण गर्ने सहमति भएको छ । नयाँ राष्ट्रिय सरकार निर्माणको यो एउटा अभियानलाई सहयोग गर्न मार्ग प्रशस्तका लागि सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्दछु’, बर्तौलाले भने ।