केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अविरल वर्षाको कारण कैलाली र कञ्चनपुरमा १३ सय घर परिवार प्रभावित

सहयात्रा टिभी

काठमाडौँ । असार २४, अविरल वर्षासँगैको बाढी तथा डुबानका कारण कैलाली र कञ्चनपुरमा करिब १३ सय घर प्रभावित भएका छन् ।

कञ्चनपुरमा ११ सय बढी र कैलालीमा डेढ सय बढी परिवार गरेर झण्डै ५ हजार जना प्रभावित भएका हुन् ।

प्रहरीको तथ्यांकअनुसार मनसुनजन्य विपद्ले कञ्चनपुरका मात्रै ३ जनाको मृत्यु भएको छ भने २ जना सम्पर्कविहीन छन् । कैलालीमा एकजना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार मृत्यु हुनेमा एकजना ७ महिने शिशु पनि छन् ।

बस्ती डुबानमा परेपछि घरभित्र जमेको पानीमा खसेर कृष्णपुर नगरपालिका–१ को पहरियामा ७ महिनाका शिशु सोनु धानुकको मृत्यु भएको थियो ।

यस्तै, पुनर्वास नगरपालिका–५ को घ गाउँमा जमेको पानीमा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटीको मृत्यु भएको छ । उनीहरुसँगै नुहाइरहेकी १६ वर्षकै आरती बोगटी बेपत्ता भएकी छन् ।

चौदारा नदीमा माछा मार्ने क्रममा बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय डम्मर चौधरी बगेर बेपत्ता भएका छन् । उनको खोजी भइरहेको छ तर अहिलेसम्म अवस्था अज्ञात रहेको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जोशीले भीमदत्त नगरपालिका, दोधाराचाँदनी नगरपालिकासहितका ठाउँमा गरेर एक हजार ११२ परिवार बाढी र डुबानबाट प्रभावित भएको जानकारी दिए । उनकाअनुसार प्रभावित परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

लगातार वर्षाका कारण डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्र। नदी र तटीय क्षेत्रका स्थानीयबासी डुबानका कारण बढी प्रभावित भएका छन् ।

यो बाहेक दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा अवरुद्ध राजमार्ग एकतर्फी रुपमा सुचारु भएको प्रदेश ट्राफिक प्रहरी कर्यालयले जनाएको छ ।

 

 

प्रकाशित : 8 July, 2024

प्रतिक्रिया दिनुहोस्