खोला तथा नदी किनारमा निश्चित मापदण्ड बनाउनुपर्ने : आरजु देउवा

सहयात्रा टिभी

काठमाडौँ । असार २५ , नेपाली कांग्रेसकी सांसद आरजु देउवा राणाले खोलाको छेउछाउमा घर बनाउन रोक लगाउनुपर्ने बताएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले खोला किनार तथा बढीग्रस्त क्षेत्र वरपर घर बनाउन रोक लगाउने गरी नीति बनाउनुपर्ने बताएकी हुन् ।

राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र वरपर वन्यजन्तुको संरक्षणका लागि मध्यवर्ती क्षेत्र भनेर छुट्याइएजस्तै मान्छेको संरक्षणका लागि पनि खोला तथा नदी किनारमा निश्चित मापदण्ड बनाउनुपर्ने उनको भनाइ छ ।

‘कुन ठाउँमा बस्ती बसाउन सुरक्षित हो, कुन ठाउँ होइन भनेर भन्दिनुपर्छ’, उनले भनिन्, ‘‘मान्छे संरक्षणका लागि खोलाका वरपर घर बनाउनु हुँदैन, बाढीग्रस्त क्षेत्र कति तोक्ने भन्ने हामीले नीति बनाउनुपर्छ । नभए हरेक वर्ष यस्ता समस्या दोहोरिरहन्छ ।’

पछिल्लो १० वर्षमा विश्वभर हिमताल विस्फोटको घटना बढ्दै गएको भन्दै सांसद देउवाले यो खबर नेपालका लागि भयावह भएको बताइन् । ‘अहिले नदी बढेर जसरी बाढी आएर धनजनको क्षति भएको छ । हिमताल फुट्दा यो भन्दा ठूलो आपत आउन सक्छ ।

हामी हिमतालबाट जन्मिएका नदीहरुको वरपर मात्र बसोबास गरिरहेका छैनौं, हाम्रा कृषि, धर्म, संस्कृति यी नदीहरुको आधारमा अघि बढेको छ’, उनले भनिन् ।

सांसद देउवाले हिमतालहरुको अनुगमन र संरक्षणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने पनि बताइन् ।

सन् २०२५ लाई ताजकिस्तानले हिमनदी संरक्षण वर्ष (युएन इयर अफ दि ग्लेसियर) को रुपमा घोषणा गर्न माग गरेको भन्दै उनले यसलाई नेपालले पनि समर्थन गर्नुपर्ने धारणा राखिन् ।

प्रकाशित : 9 July, 2024

प्रतिक्रिया दिनुहोस्