सीटीईभीटी एक वर्षदेखि अवैध क्रिप्टो कारोबारको अखडा बनेको खुलासा

सहयात्रा टिभी

काठमाडौँ । असार २५ , प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को कम्प्युटरहरु एक वर्षदेखि अवैध क्रिप्टो कारोबारको अखडा बनेको खुलासा भएको छ ।

त्यहाँ कार्यरत दुई आईटी इन्जिनियरले ६४ थान कम्युटरमा क्रिप्टो माइनिङ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को निष्कर्ष छ ।

सीआईबीले सीटीईभीटीमा कार्यरत इन्जिनियरद्वय विश्वास गुरुङ र राजेन्द्र ताहामतालाई ३० जेठमा पक्राउ गरेको थियो ।

भक्तपुर नगरपालिका–७ गोल्मढीका २५ वर्षीय राजेन्द्र सीटीईभीटीको ट्रेनिङ इन्ष्टिच्युट फर टेक्निकल इन्स्ट्रक्सन (टीआईटीआई) शाखामा आईटी असिस्टेन्ट (सूचना प्रविधि सहायक) पदमा करारमा कार्यरत थिए । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटका ४० वर्षीय गुरुङ प्रशिक्षकको रुपमा कार्यरत थिए ।

उनीहरुले कार्यालयको कम्प्युटरमा क्रिप्टो माइनिङसम्बन्धी सफ्टवेयर तथा एप्लिकेसनहरु इन्स्टल गरेर क्रिप्टो माइनिङ गरेको अनुसन्धानबाट खुलेको सीआईबीले बताएको छ ।

सीआईबीले क्रिप्टो माइनिङमा प्रयोग गरिएका ६४ थान कम्युटर समेत बरामद गरेको थियो ।

कम्युटरहरुमाथि अनुसन्धान गर्दा विगत एक वर्षदेखि क्रिप्टोको माइनिङ गरेको खुलेको छ । ‘विगत एक वर्षदेखि सरकारी कार्यालयबाटै क्रिप्टो माइनिङ भएको भेटिएको छ । बरामद कम्प्युटर तथा मोबाइलमा माइनिङका विभिन्न एप तथा सफ्टवेयर, वालेट बरामद भएका छन्’, सीआईबीका एक अधिकारीले भने ।

पक्राउ परेका दुबै जनाले भने आफूहरुले क्रिप्टो माइनिङ नगरेको दाबी गर्दै बयान दिएका छन् । यसअघि नै कम्प्युटर सेट गरेका बेला कोरियन नागरिकले उक्त सिस्टम कम्प्युटरमा एक्टिभ गरेको हुनसक्ने दुबैको दाबी छ ।

आईटी ल्याबमा रहेका कम्प्युटरसहितका इलेक्ट्रिोनिक उपकरण केओआईसीए भन्ने कोरियन प्रोजेक्टबाट आएको थियो । कम्प्युटर मर्मत भने रिलायन्स इन्फोटेक प्रालिले गर्ने गरेको थियो ।

कम्प्युटरहरु जडान गर्नेहरुले नै क्रिप्टो माइनिङसँग सम्बन्धित एप्लिकेशन राखेको विश्वास र राजेन्द्रको दाबी छ ।

 

 

प्रकाशित : 9 July, 2024

प्रतिक्रिया दिनुहोस्