केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल जाने पक्का रहेको चर्चा

सहयात्रा टिभी

काठमाडौं । असार २६, कांग्रेसको समर्थनमा बन्न लागेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा को को जाँदैछन् भन्ने टुंगो लागिनसके पनि दुवै पार्टीमा यसबारे चर्चा बाक्लिएको छ ।

एमालेबाट अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेल जाने पक्का रहेको पार्टी उच्च नेतृत्वले जानकारी दियो । चुनाव जितेको सांसद हुनुपर्ने, अनि अहिले देखिएको संकट टार्न भूमिका खेल्न सक्ने नेता नै मन्त्री बन्ने मापदण्ड बनाएको अवस्थामा एमालेबाट पौडेल निर्विकल्प रहेको पार्टी स्रोतले बतायो ।

पार्टीले व्यक्तिका बारेमा औपचारिक निर्णय भने गरेको छैन । यद्यपि अध्यक्ष केपी ओलीले आफ्नो अनौपचारिक तयारी र परामर्श गरिरहेका छन् ।

पौडेललाई यसअघि एमाले–माओवादी गठबन्धनमा पठाउन खोजिए पनि उनी तयार भएका थिएनन् । यसअघि ओलीकै मन्त्रिपरिषद्मा ०७७ असोजमा पौडेल अर्थमन्त्री बनेका थिए ।

०७९ को आम चुनावलगत्तै प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्मा उनी फेरि अर्थमन्त्री थिए । कांग्रेससँग माओवादीको समीकरण बनेलगत्तै उनी ६४ दिनमै बाहिरिएका थिए ।

‘सचिवालय बैठकले मन्त्री बन्ने मापदण्ड र प्राथमिकताबारे धारणा बनाएको छ’, एक पदाधिकारीले भने, ‘चुनाव जितेर सांसद भएका, अनि सरकारमा गएर राष्ट्रिय संकटका बेला पर्फमेन्स गर्न सक्ने व्यक्तिकै खोजी भइरहेको छ ।

अर्थमन्त्रीमा विष्णुजीको नाम आवश्यक र स्वभाविक दुवै हो भनेर पार्टीमा कुरा भएको छ ।’ उपाध्यक्ष पौडेलले भने आफू अर्थमन्त्री बन्ने कुरा थाहा नभएको बताए ।

प्रकाशित : 10 July, 2024

प्रतिक्रिया दिनुहोस्