ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको समस्या झन् गम्भीर : केसी

सहयात्रा टिभी

काठमाडौं । साउन १, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढेको बताएका छन् ।

वर्तमान सत्तासमीकरणबारे मंगलबार पार्टीको धारणा सार्वजनिक गर्दै अध्यक्ष केसीले ओली नेतृत्वमा सरकार बनिसकेपछि देशमा प्रतिगमनको समस्या झन् गम्भीर रूपमा देखापर्ने खतरा रहेको बताएका हुन् ।

केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साम्राज्यवादी शक्तिहरूले पनि मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताविरुद्ध षड्यन्त्र गर्न सक्ने खतरा झन् बढेर गएको छ । यो परिस्थितिमा गणतन्त्र तथा राष्ट्रियता रक्षाका लागि संघर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।’

राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेस र नेकपा एमालेबीच बनेको नयाँ गठबन्धन मुलुकका लागि हानिकारक रहेको बताएको छ ।

‘यो गठबन्धन र केपी ओली नेतृत्वमा बनेको सरकार नेपालका लागि तात्कालीन र दीर्घकालीन दुवै दृष्टिले हानिकारक रहेको छ । त्यसैले हाम्रो दल राष्ट्रिय जनमोर्चाले ओली नेतृत्वमा बनेको सरकारको कडा विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

ओलीमा संसद् चल्न नदिने, पार्टीभित्र उठेका विरोधका स्वरहरूलाई अधिनायकवादी ढङ्गबाट दबाउन खोज्ने प्रवृत्ति रहेको केसीले बताएका छन् ।

‘यसप्रकारको प्रवृत्तिका कारण उनको नेतृत्वमा बनेको सरकारले मुलुकलाई अधिनायकवादको दिशामा अगाडि बढाउन सक्ने खतरा रहेको छ,’ केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

प्रकाशित : 16 July, 2024

प्रतिक्रिया दिनुहोस्