देउवाले गरे कांग्रेसको केन्द्रीय पुस्तकालयको उद्घाटन

काठमाडौं । साउन ६, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय पुस्तकालयको उद्घाटन गरेका छन् । पार्टीका संस्थापक बिपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसर पारेर देउवाले केन्द्रीय कार्यालय सानेपामा आइतबार ‘नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय’को उद्घाटन गरेका हुन् ।
बिपीको २०३९ साउन ६ गते निधन भएको थियो । पुस्तकालयमा बिपीका साहित्यिक कृति, पार्टीका दस्तावेजसहितका पुस्तक राखिएका छन् । पार्टीले ७० लाख खर्च गरेर केन्द्रीय कार्यालयमा पुस्तकालय बनाएको जनाएको छ । पुस्तकालय उद्घाटन कार्यक्रममा कांग्रेसका उपसभापति, महामन्त्रीसहितका नेता कार्यकर्ता सहभागी भएका थिए ।