बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिंले दाबी पेस गर्दै

सहयात्रा टिभी

हेटौँडा। साउन ७, बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले आज दाबी पेस गर्ने भएका छन् । आइतबार कांग्रेस संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

लामाले आफ्नै दल कांग्रेस र एमालेका सांसदहरुको समर्थनमा बिहान १० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले मंगलबार अपराह्न ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकारमा दाबी पेस गर्नका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेशसभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका सभामुखसहित १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

 

प्रकाशित : 22 July, 2024

प्रतिक्रिया दिनुहोस्