सामान्य प्रशासन मन्त्रालयद्धारा जथाभावी सरूवा

सहयात्रा टिभी

काठमाडौँ । साउन ७, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफैंले गरेका व्यवस्थाहरु लत्याउँदै जथाभावी सरूवा गर्न थालेको छ ।

 

सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड-२०८१ मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाबाट स्वीकृत भएको दुई हप्ता नबित्दै स्थानीय तहमा राजनीतिक दबाब र प्रभावका आधारमा सरूवाहरू सुरू भएको हो ।

गत २५ असारमा मन्त्रालयले स्वीकृत गरेर रायका लागि विभिन्न मन्त्रालय र प्रदेशमा पठाएको मापदण्डको कार्यान्वयन त्यसैलाई मिचेर सुरु भएको कर्मचारीहरूको टिप्पणी छ ।

यसअघि नयाँ मापदण्ड नबनेसम्म भन्दै सरूवा रोकेको मन्त्रालयले सचिवबाट स्वीकृत मापदण्डका व्यवस्था भने अहिलेदेखि नै लत्याउन थालेको हो ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादमा परेसँगै मन्त्रालयले सरुवामा गरिरहेको मनपरी सार्वजनिक भएको हो ।

मन्त्रालय स्रोतका अनुसार नयाँ सामान्य प्रशासनमन्त्रीका रुपमा आएका नेकपा एमाले नेता तथा पर्साका सांसद राजकुमार गुप्ताको दबाबमा जीतपुरसिमरा उपमहानगरपालिकामा नियमविपरीत सरुवा गरेको हो ।

मन्त्रालयले गत ३ साउनमा जीतपुरसिमरा उपमहानगरपालिकामा चेतकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्दै यसअघि पनि सो उपमहानगरपालिकामा काम गरिसकेका पोखेरेललाई त्यहाँ पठाइएको थियो । पोखरेल यससघि करिब २७ महिना जीतपुरसिमरा उपमहानगरपालिकामै प्रमुख प्रशासकीय अधिकृत थिए ।

 

प्रकाशित : 22 July, 2024

प्रतिक्रिया दिनुहोस्