प्राधिकरणले ६ वटा उद्योगमा काटिएको बिजुली आजदेखि जोडिदिने निर्णय

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, नेपाल विद्युत् प्राधिकरणले ६ वटा उद्योगमा काटेको बिजुली आजदेखि जोड्ने भएको छ ।

प्राधिकरणको बोर्ड बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको बिजुली उपभोग गरेर बक्यौता नबुझाएका ६ वटा उद्योगमा काटिएको बिजुली आजदेखि जोडिदिने निर्णय गरेको हो ।

उद्योगहरूलाई बक्यौता रकम बुझाउन प्राधिकरणले तीन महिनाको समय दिएको छ ।

तीन महिनाभित्र उद्योगीहरूले बक्यौता भुक्तानी नगरेमा फेरि कारबाही प्रक्रिया शुरु गर्ने विद्युत् नियमन आयोगको निर्देशनअनुसार आजदेखि बिजुली जोड्न थाल्ने प्राधिकरणले जनाएको छ ।

बिजुली महसुल नतिरेको भन्दै प्राधिकरणले गएको असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल्स, जगदम्बा सेन्थेटिक्स र हुलास स्टिल्स गरी ६ वटा उद्योगको लाइन काटेको थियो ।

आजको बोर्डको बैठकमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले भने विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राख्नुभएको थियो ।

उद्योगहरूको बिजुली काटिएको विषयमा प्रतिनिधि सभाको बैठकमा पनि तीन दिनदेखि पक्ष र विपक्षमा बहस भइरहेको छ । उद्योगीहरूले तिर्नुपर्ने झन्डै साढे आठ अर्ब रुपैयाँ सरकारले मिनाहा गर्न खोजेको माओवादीको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने उद्योगीहरूले उपभोग नगरेको बिजुलीको महसुल तिराउन खोजेको भन्दै विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति संसद्को रोस्ट्रमबाटै आक्रोश पोख्दै आउनुभएको छ ।

 

प्रकाशित : 23 July, 2024

प्रतिक्रिया दिनुहोस्