काठमाण्डौ महानगरद्वारा छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, काठमाण्डौ महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ को छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

नतिजाको योग्यता क्रम https://entrance.kathmandu.gov.np/ मा गएर रोल नम्बर, जन्ममिति र पासवर्ड राखेर (प्रवेशपत्र लिन अपनाइएको विधि अपनाएर) प्राप्ताङ्क र योग्यता क्रमको स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सकिन्छ ।

छात्रवृत्तिका आवेदक ११ हजार आठ सय ७१ जना विद्यार्थीमध्ये ११ हजार दुई सय ८१ जनाको आवेदन स्वीकृत भएको थियो ।

विज्ञान विषयका लागि एक हजार सात सय ५७ वटा छात्रवृत्ति कोटा रहेकोमा ६ हजार सात सय २० जना उत्तीर्ण भएका छन् ।

व्यवस्थापन विषयमा दुई हजार चार सय ९३ वटा छात्रवृत्ति कोटा रहेकोमा एक हजार तीन सय ८१ जना उत्तीर्ण भएका छन् । यस विषयका दुई जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

कानुन विषयमा एक सय ३६ वटा छात्रवृत्ति कोटा रहेकोमा ७३ जना उत्तीर्ण भएका छन् । मानविकी विषयमा ७३ वटा छात्रवृत्ति कोटा रहेकोमा आठ जना उत्तीर्ण भएका छन् । शिक्षा विषयका लागि ७० वटा छात्रवृत्ति कोटा रहेकोमा १५ जना उत्तीर्ण भएका छन् ।

नतिजामा दाबी विरोध भएमा प्रमाण पुग्ने कागजातसहित र प्राप्ताङ्कमा चित्त नबुझे वेबसाइटमा उपलब्ध अनसूची ३ बमोजिमको फाराम भरेर पर्सि बिहीवार बेलुका ५ बजेभित्र अनलाइनबाटै पुनर्योगका लागि निवेदन दिन सकिने महानगरले जनाएको छ ।

 

प्रकाशित : 23 July, 2024

प्रतिक्रिया दिनुहोस्