चीनबाट आयात सवारीसाधन रसुवागढीमै रोकिए

काठमाडौँ । साउन १०, गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटार खण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ ।
गत वर्ष लगाइएको ग्याबिन पर्खाल पल्टिएपछि रसुवागढी जाने प्रमुख मार्गमा ठूला सवारीसाधन रोकिएका छन् ।
प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालका अनुसार आजदेखि अर्को व्यवस्था नभएसम्म हल्का सवारीसाधनबाहेक अन्य ठूला सवारीसाधन लैजान रोक लगाइएको छ ।
गत वर्ष राज्यको ठूलो लगानीबाट निर्माण भएको ग्याबिन पर्खाल मजबुत नभएकै कारण सडक मार्गमा क्षति भएको स्थानीयले बताएका छन् । पर्खालको ग्याबिन बक्सा पल्टिएपछि आसपासका बस्तीमा समेत जोखिम बढेको छ ।
सडक मार्ग क्षति भएसँगै चीनबाट आयात भएका सवारीसाधन रसुवागढीमा रोकिएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार काठमाडौँका लागि चीनबाट आयात भएका एक सय ५० विभिन्न सामग्रीसहितका कन्टेनर सडकको अभावमा रसुवागढीमै रोकिएका छन् ।