पर्यटन समितिमा सभापति यादव र सुदन किरातीबीच भनाभन

सहयात्रा टिभी

काठमाडौँ । साउन १०, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सभापति राजकिशोर यादव र माओवादी सांसद सुदन किरातीबीच भनाभन भएको छ ।

सौर्य एयरको विमान दुर्घटना भएको भोलिपल्ट बिहीबार बैठक बोलाएको समितिले पर्यटनमन्त्री, नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक लगायतका अधिकारीलाई बोलाएको थियो ।

छलफलका क्रममा पूर्व पर्यटनमन्त्री समेत रहेका माओवादी सांसद किरातीले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्र्याएर नियमनकारी र सेवा प्रदायक अलग–अलग निकाय बनाउनुपर्ने बताए ।

विमानस्थलहरुलाई पीपीपी मोडलमा लैजान आफ्नै पालामा अध्ययन भएको भन्दै उनले नयाँ सरकारले यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे । त्यसपछि उनले दक्षिण कोरियामा जान उसकै जहाज चाहिने किन भयो भनेर प्रश्न गरे ।

सांसद किरातीले ठूला निर्णय गर्न बाटो हेराहेर भइरहेको भनिरहेका बेला समिति सभापति यादवले समयको चाप रहेको भन्दै छोट्याउन आग्रह गरे ।

सांसद किरातीले एजेण्डा राखेपछि बोलिसकौं भनेर जवाफ दिए । त्यसपछि समिति सभापति र सांसद किराँतीबीच निकैबेर सवाल जवाफ भयो ।

त्यसपछि सांसद किराँतीले एजेण्डामा बोल्दा पनि रोकेको भनेर सभापति यादवसँग आक्रोस पोखे, यादवले समयमा जोड दिए ।

 

प्रकाशित : 25 July, 2024

प्रतिक्रिया दिनुहोस्